
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले पनः अर्थमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।
मन्त्री नियुक्तपछि हाल प्रधानमन्त्रीले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्मालाई दिइएको राष्ट्रपति कार्यालयबाट जारि विज्ञप्तिमा उल्लेख छ। नेता शर्मामाथि लागेको आरोपको छानविनमा उनि निर्दोष पाइएपछि पुनः अर्थमन्त्रीमा सिफारीसका लागि आज बिहान माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भटेका थिए ।
बजेट निर्माणका क्रममा अनधिकृत रुपमा बाहिरको ब्यक्तिलाई अर्थमन्त्रालयमा छिराएर करका दर हेरफेर गरेको आरोप लागेपछि नेता शर्माले पदबाट राजीनामा गरेका थिए । उनिमाथि लागेको आरोपबारे छानविन गर्न बनेको संसदीय छानविन समितिले अर्थ मन्त्रालयमा त्यस्तो अनधिकृत रुपमा कोहि पनि ब्यक्ति छिरेको नपाइएको भन्दै शर्मालाई सफाई दिएपछि उनि पुनः अर्थमन्त्री बन्ने बाटो खुलेको थियो । नेता शर्माले आजै केहिबेरपछि शपथ लिने कार्यक्रम तय गरिएको बताइएको छ ।















