
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताएका छन् ।
आज बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताएका हुन् ।
नेपाली जनताका लागि फागुन ७ गते ऐतिहासिक महत्त्वको दिन भएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । आजभन्दा ठिक ७३ वर्षअगाडि अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको संघर्षमार्फत् जहानियाँ निरङ्कुश व्यवस्थामाथि विजय हासिल गरेको उनले बताए।
‘फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्त्वको दिन हो। आजभन्दा ठिक ७३ वर्षअगाडि हाम्रा अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको संघर्षमार्फत् जहानियाँ निरङ्कुश व्यवस्थामाथि विजय हासिल गरेका थिए। यस महत्त्वपूर्ण दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक व्यवस्था र राष्ट्रियताको रक्षाका निम्ति आफ्नो जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानसहित स्मरण गर्दछु। विभिन्न आन्दोलन र सङ्घर्षका क्रममा घाइते एवं अङ्गभङ्ग हुनुभएका सम्पूर्ण योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्दछु, प्रचण्डले भने। ’
निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको बलिदानीपूर्ण संघर्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र संघर्षहरू भएको स्मरण गर्दै प्रधानमन्त्रीले ती सबै क्रान्ति, आन्दोलन र संघर्षहरूले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेको जिकिर गरे । यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनहरूप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादउन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न उनले अपिल समेत गरे ।
संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता रहेको प्रधानमन्त्रीको भनाई रहेको थियो ।









