
काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघि मतगणना सुरु भएको हो ।
राष्ट्रपति चयनका लागि आज १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो। मतदान सकिएपछि मतगणना सुरु भएको हो ।
संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ सदस्यले मतदान गरेका छन् ।
मुलुकको तेस्रो राष्ट्रपतिका लागि नौ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । दुबै जना पूर्व सभामुखसमेत हुन् । पौडेललाई नौं दलको सर्मथन रहेकाले उनको जित सुनिश्चित जस्तै छ ।












