धर्मको आधारमा भेदभाव गरेको भन्दै चीन पनि कालो सूचीमा,पाकिस्तानको कडा आपत्ती 


काठमाडौं । धर्मको आधारमा भेदभाव गरेको भन्दै चीन पनि कालो सूचीमा परेको छ । अमेरिकाले धार्मिक स्वतन्त्रताको मामिलामा चीन, पाकिस्तानसहित उत्तर कोरिया, साउदी अरब, म्यानमार, इरिट्रिया, इरान, ताजकिस्तान र तुर्कमेनिस्तानलाई फेरि कालो सूचीमा राखेको छ ।

जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालोसूचीमा राख्ने गर्दछ । अमेरिकाको वार्षिक सूचीमा पाकिस्तानसहित नौ देश दोस्रो पटक कालोसूचीमा परेका हुन। कालोसूचीमा परेका देशहरुलाई अमेरिकाले प्रतिबन्ध लगाउने गर्दछ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले १८ डिसेम्बर २०१९ मा सार्वजनिक गरेको कालो सूचीमा चीन लगायत नौं वटा देशहरु दोस्रो पटक कालो सूचीमा परेका हुन । यि देशहरुलाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता कानूनअनुसार कालो सूचीमा राखिएको हो । यसपटक सुडान भने कालो सूचीमा परेको छैन ।

पाकिस्तानको कडा आपत्ती
आफुलाई दोस्रो पटक कालो सूचीमा राखेको भन्दै पाकिस्तानले कडा आपत्ति जनाएको छ । अमेरिकाले पक्षपाती रवैया अपनाएको समेत उसको आरोप छ । पाकिस्तान विदेश मन्त्रालयकी प्रवक्ता आयसा फारुकीले विज्ञप्ति जारी गर्दै भनेकी छन्, “अमेरिकी यो कदम यथार्थतासँग मेल खाँदैन । भारतमा अल्पसंख्यकलाई प्रताडित गरिन्छ, तर भारतलाई अमेरिकाले सूचीमा राखेको छैन । पूरै प्रक्रिया एकतर्फी र भेदभावपूर्ण छ ।”

“कश्मीरमा महिनौंदेखि मानिसहरुलाई कैद गरेर राखिएको छ । हालै धर्मको आधारमा नागरिकता दिने कानून बनाइएको छ, तर पनि भारतलाई अमेरिकाले सामेल गरेको छैन,” प्रवक्ता फारुकीले भनेकी छन्।

पाकिस्तान धार्मिक बहुल मुलुक हो र सबै धर्मावलम्बीले आफ्नो आफ्नो धर्मको पालना गर्ने संवैधानिक स्वतन्त्रता रहेको उनले जिकिर गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार