
काठमाडौं । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका एकल पुत्र जयवीर देउवा र गायिका शिवाना श्रेष्ठबीच विवाह हुने भएको छ । देउवाको सचिवालयले जनाएअनुसार उनिहरुबीच यहि माघ २१ गते विवाह हुनेछ ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दुबै जनाले गत जेठ १ गते परिवारको उपस्थितीमा मगनी सम्पन्न गरेका थिए।
देउवा निवास बुढानिलकण्ठमा विवाहको तयारी यतिबेला तीव्ररुपमा भइरहेको छ । २८ वर्षिय जयवीरसंग विवाह गर्न लागेकी शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् ।
सौन्दर्य प्रशाधनको व्यवसायी रहेकी शिवाना कभर गायिका समेत हुन् । जयवीरले पनि ब्लुप्रिन्ट ट्रेडिङ प्रालिमार्फत केही वर्षदेखि यस्तो व्यवसाय गरिरहेका छन् । जयवीर शेरबहादुर र आरजुका एक्ला सन्तान हुन ।
गत वर्ष पुष १३ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका देउवा आजमात्रै बुढानीलकण्ठस्थित निजि निवास फर्केका छन् । घरको केहि मर्मत गर्नु पर्ने भन्दै उनि धुम्बाराही भाडाको घरमा सरेका थिए । विवाह नजिकिदै गएपछि घरको सजावट तिर्व पारिदैछ ।









