
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुसंग छलफल गर्ने भएका छन् । सभामुखको कार्यकक्षमा आज बिहान साढे ११ बजे प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको बैठक बोलाएर छलफल गर्न लागेका हुन् ।
यही वैशाख २८ गतेदेखि सुरु हुने बर्खे अधिवेशन सहज रुपमा सन्चालन गर्ने वातावरण बनाउनका लागि दलका शीर्ष नेताहरुसंग छलफल गर्न लागिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति लामिछाने उपर छानबिन गर्न संसदीय समितिको मागमा अडिक रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । सुरु हुन लागेको बर्खे अधिवेशनमा पनि लामिछानेबारे छानबिन समिति बन्नु पर्ने माग राख्दै कांग्रेसले संसद अवरोध गर्ने तयारी गरेको छ । सोहि अवस्थालाई मध्यनजर गर्दै सभामुख घिमिरेले शिर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् ।
सहकारी संस्थाका समग्र समस्याबारे छानबिन समिति बनाउन रास्वपासहित सत्ता गठबन्धन तयार रहे पनि कांग्रेसले गृहमन्त्री लामिछानेलाई बाहिर राख्ने गरी छानबिन समिति बन्न नसक्ने बताउँदै आएको छ । जसका कारण सहमती जुट्न सकिरहेको छैन् ।












