धनगढी । विप्लव समूहसँग सरकारले वार्ता गरिरहेको विषय चर्चामा आइरहेका बेला धनगढीमा शक्तिशाली बम विष्फोट भएको छ । विहिबार बेलुका धनगढीमा भएको विष्फोटमा परी ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा कञ्चनपुरको बेलौरी ५ का लक्ष्मण सेरला, जितेन्द्र यादव, मोबिन खान, बझाङका राम सिंह र धनगढी ४, बोराडाडीका केशवराज पाण्डे छन् । घाइते मध्ये एक जनाको अवस्था भने गम्भिर रहेको छ ।
घाइतेको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ । उनीहरूले नै बोकेर ल्याएको कन्टेनर विष्फोट भएको अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धान भइरहेको छ ।
घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ ।










