
धनुषा । धनुषामा भएको बम बिस्फोटमा परी गम्भिर घाइते प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहालको मृत्यु भएको छ ।
जिल्लाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा उनि शक्त घाइते भएका थिए ।
कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा आज बिहान ६ः४० बजे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश्वर साहको घर बाहिर पोलमा राखिएको बम गएराति करिब १२ बजेतीर विष्फोट हुँदा ४६ बर्षिय राजेश्वर र उनका छोरा अन्दाजी बर्ष २४ का आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो भने इन्स्पेक्टर दाहाल गम्भिर भाइते भएका थिए । बम बिस्फोटमा परी मृत्युको संख्या तीन पुगेको छ ।
प्रहरीका अनुसार बम विष्फोटमा परी अन्य चार जना घाइते भएका छन् । घाइते हुनेका राजेश्वरकी छोरी अँजली साह, छोरा प्रकाश भन्ने प्रेम साह गम्भिर घाईते भएका छन् । अँजलीको खुट्टामा गम्भिर चोट लागेको छ भने प्रेमलाई झर्रा लागेको प्रहरीले बताएको छ ।
घटनामा घाइते भएका अँजली, प्रेम र प्रहरी जवान रिजनाथ कुमार महतोको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।











