
काठमाडौं । संसारमा सबैभन्दा बढि मनाइने पर्व ख्रीष्टमस आज मनाइदैछ । नेपालसहित विश्वभर मुक्तीदाता यशु ख्रीष्टको जन्मको स्मरण गर्दै हरेक बर्ष २५ डिसेम्बरमा ख्रीष्टमस भनेर धुमधामसंग मनाइने गरिन्छ ।
इसाइ धर्मालम्वीहरुले आज चर्चहरुमा गई प्रार्थनासहित एकअर्कामा शुभकामना ब्यक्त गर्दै ख्रीष्टमस मनाउने गर्दछन् । वाइवलमा उल्लेख भएअनुसार इजरायलको वेथलेहममा आजभन्दा दुईहजार बर्ष अघि प्रभु येशु ख्रीष्टको कन्या मरियमको गर्भबाट जन्म भएको हो ।
यशुको जन्मको यकिन मिति उल्लेख नभएपनि डिसेम्बरको जाडो महिनामा उनको जन्म भएको विभिन्न तथ्यका आधारमा २५ डिसेम्बरलाई उनको जन्म दिन सम्झेर मनाइने गरिन्छ । ख्रीष्टमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् ।
ख्रीष्टमसको अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ । २०६४ देखि मन्त्रिपरिषद् बैठकले निर्णय नै गरेर हरेक डिसेम्बर २५ तारिकमा ख्रीष्टमसका दिन सार्वजनिक विदा दिदै आएको थियो । अहिले उक्त विदा कटौती गरेका कारण विदा कायम गरियोस भन्दै इसाइधर्मालम्वीहरुले माग गर्दै आएका छन् । यस वर्ष पनि इसाइधर्मालम्बीलाई मात्र बिदा दिइएको छ ।
ख्रीष्टमस किन मनाइन्छ ?
वाइवलको लूका भन्ने पुस्तकको २ : १०–११ मा यशु ख्रीष्टको बिषयमा यसरि उल्लेख गरिएको, “तव स्वर्गदूतले तिनीहरुलाई भने । नडराओ, किनभने हेर म तिमीहरुलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरुको निम्ति हुनेछ । आज दाउदको शहरमा तिमीहरुका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ ।”
वाइवलका विभिन्न पुस्तक, पद र एतिहासिक अन्य पुस्तकमा यो कुरा उल्लेख भएअनुसार यशुको जन्म जाडो महिनामा भएको सम्झाना गर्दै ख्रीष्टमस मनाउन थालिएको हो ।
यशुको जन्मसंग जाडोको निकै महत्व छ । वाइवलमा स्वर्गदुत संसारमा आइ यशुको जन्मबारे भविष्यवाणी गर्दा गोठालाहरूले आगो तापिरहेको कुरा उल्लेख भएअनुसार यसुको जन्म जाडो महिनामा नै भएको जनविश्वास छ ।
यशु को हनु ?

यशु ख्रीष्टलाई संसारमा सबैभन्दा बढि मानिसहरुले आफ्नो एक मुक्तीदाताका प्रभुका रुपमा मान्ने गर्दछन् । उनको जन्म नै रहस्यमय ढंगले भएका कारण उनको महत्व बढि छ । संसारमा पाप बढ्दै गएर संसार नै नष्ट हुन थालेपछि आफ्नै स्वरुपमा मानव जातिको मुक्तीका लागि श्वर्गबाट परमेश्वरले आफ्नो एकमात्र पुत्र यशुलाई पठाएको जनविश्वास छ ।
जब यशु कन्या मरियमबाट जन्मिए तब उनले संसारमा अच्चमका काम गरे । पापका कारण मानव जातिमा आएको मृत्युलाई अन्नतको जिवन दिनका लागि यशुले स्वयम परमेश्वर भइ मानव जातिको मुक्ती गरेको जनविश्वास छ ।
यशुले “म माथि विश्वास गर्ने हरेकले उद्धार पाउनेछ,” भनि भनेको कुरा वाइवलमा उल्लेख छ । वाइवलमा उल्लेख भएअनुसार उनले संसारमा रहँदा गरिब, असाहय, अन्याय थिचोमिचोमा परेका, विभेदमा परेका, रोगी बिरामीहरुको उद्धार गरेको पाइन्छ ।
अन्तमा हरेक मानव जातिको पाप नष्ट गरी नयां जीवन दिन उनले कलबरीको र्कुसमा शरिर त्याग गरेको पाइन्छ । पाप नष्टका लागि कुनै जिव जनावरको बलि दिन आवश्यक नरहेको भन्दै यशु आफैले प्राण त्यागेको जनविश्वास छ ।
यशुको जन्म एक रहस्य

जब संसारमा पाप, अन्याय, विभेद बढ्दै जान थाल्यो तब श्वर्गबाट स्वयम परमेश्वर कन्या कुमारी मरियमको पेटमा यशुको रुपमा आइ जन्म लिएको विभिन्न इतिहासले बताउँछ ।
यशुलाइ जन्म दिने मरियम भन्ने युवती कन्या कुमारी नै थिइन । उनको युसुफ भन्ने युवकसंग मगनी मात्रै भएको थियो । जब एकदिन मरियम र युसुफ बेथलेहमको बाटो भएर जाँदै थिए तब रात परेपछि उनिहरु गोठमा बास बसे । त्यहि राती एक्कासी श्वर्गदुत आएर कन्यां मरियमबाट यशुको जन्म हुने भविष्यवाणी गरे ।
तर, यशुकी आमा मरियम कन्यां नै भएकाले उनि यो खबर सुनेर अच्चमित भएको र पछि श्वर्गदुतले यो परमेश्वरको योजना भएकाले तिमीले अच्चम मान्नु पर्दैन भनेको कुरा वाइवलमा उल्लेख छ । यसरि यशुको जन्म रहस्यमय भएकाले उनले संसार रहँदा पनि अच्चमका कामहरु गरेको वाइवलका विभिन्न खण्डहरुमा उल्लेख छ । त्यसैले यशु सत्य मुक्तीदाता भएको भन्दै संसारमा सबैभन्दा बढि मानिसहरुले उनिलाई आफ्नो शान्तीदाता, मुक्तीदाता भनेर विश्वास गर्दछन् ।
संसारमा कहिलेदेखि ख्रीष्टमस मनाउन थालियो
इस्वी संवत ३३६ डिसेम्बर २५, तारिखमा पहिलो पटक क्रिसमस मनाइएको घटना इतिहासमा पाइन्छ । जुन समयमा पहिलो ख्रीष्टीयन रोमी शासक कन्स्टानटाइन थिए । त्यसको केही वर्षपछि मण्डलीका पोप जुलियसले डिसेम्बर २५ लाई आधिकारिक रूपमा यशु ख्रीष्टको जन्मोत्सव मनाउने दिनका रूपमा प्रचलनमा ल्याएका हुन । रोम राज्यमा इसाइ पूर्व ३५४ मा ख्रीष्टमस मनाइन थालिएको इतिहास पाइन्छ ।
हुन त डिसेम्बर २५ मा रोमीहरूले “साटर्निलिया” ( धार्मिक चाड) को रूपमा देशमा सार्वजनिक बिदा दिने गरेका थिए । विस्तारै त्यहाँका मानिसहरू यसु ख्रीष्टलाई आफ्नो मुक्तीदाता भनेर ग्रहण गर्न थालेपछि ख्रीष्टमस लोकप्रिय उत्सव बन्न थालेको हो ।
नेपालमा कहिलेदेखि ख्रीष्टमस मनाउन थालियो
नेपाली इसाइ धर्मालम्वीका अगुवाका अनुसार नेपालमा ४ सय वर्ष अघिबाट ख्रीष्टमस मनाउन थालिएको हो । नेपालका राजाहरुले नै पादरी र ख्रीष्टीयन मिसिनरीलाई नेपाल बोलाएको इतिहासकारहरु बताउँछन् । नेपालमा ख्रीष्टीयन मिसिनरीहरुले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अतुलनिय योगदान गरेका छन् । जसको फलस्वरुप राजाहरुले त्यसबखत उनिहरुलाई उच्च सम्मान गरेको समेत पाइन्छ ।
नेपालमा २०६२/६३ को ऐतिहासिक परिवर्तनपछि नेपाली इसाइहरुले खुलेर आफ्नो धार्मिक आस्था अनुशरण गर्न लागेका हुन । ठुलो क्रान्ती र जनआन्दोलन पश्चात नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपाललाई धर्म निरपेक्षता घोषणा गरेसंगै इसाइहरुले निर्धक्क भएर आफ्नो धार्मिकआस्था अनुशरण गर्न पाएका हुन ।
सरकारले पनि नेपाली इसाइहरुको धार्मिकआस्थाको सम्मान गर्दै हरेक बर्ष ख्रीष्टमसमा प्रभु यशु ख्रीष्टको शुभ जन्म उत्सवमा सार्वजनिक विदा दिदै आएको थियो । जुन बर्ष यता काटिएको छ ।
नेपाल ख्रीष्टीयन महासंघका अनुसार अहिले नेपालमा करिब १३ हजार चर्च र ३० लाखभन्दा बढी ख्रीष्टीयनहरु छन् ।













