
काठमाडौं । आज गुरुङ समुदायले धुमधामका साथ तमुल्होसार मनाउँदै छन् । हरेक बर्ष १५ पुसलाई नयाँ वर्षका रुपमा मनाउने गुरुङ समुदायले आज तमुल्होसार ठुलो पर्वका रुपमा मनाउदैं आएका छन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमुल्होसार मूलआयोजक समितिका अनुसार गएराती राति १२ बजे मृग वर्षलाई बिदाइ गरी आज मुसा वर्षलाई स्वागत गरिदैछ ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका थिए । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।
यसबर्ष टुंडिखेलमा बिषेश कार्यक्रम
तमुल्होसारको अवसरमा हरेकबर्ष काठमाडौंको टुंडिखेलमा कार्यक्रम हुँदै आएको छ । तर, यसवर्ष तमुल्होसारका अवसरमा आइतबारदेखि नै तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता भइरहेको तमुल्होसार मूलआयोजक समितिले जनाएको छ ।
समितिका अनुसार प्रतियोगिताको अन्तिमचरणको कार्यक्रम आज (मंगलबार) हुदैछ ।
तमुल्होसारका अवसरमा १५० भन्दा बढी स्टल राखिएका छन् । जहाँ गुरुङ समुदायका मौलिक पहिचानका चीजबीज एवं वेषभूषा र खानाका परिकारको प्रदर्शनीसहित बिक्री वितरण भइरहेको छ ।
टुंडिखेलमा राष्ट्रपतिले संवोधन गर्ने
तमुल्होसारको अवसरमा आज अपरान्ह १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले मूलसमारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायत व्यक्तित्वले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
यस अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकामा गत वर्षदेखि कटौती गरिएकामा गुरुङ समुदाय असन्तुष्ट छन् । केही स्थानीय तहले भने यस पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइका छन् ।













