
काठमाडौँ । कोरोनाको उच्च जोखिममा रहेको कैलाली र कञ्चनपुरमा अहिलेसम्म ६६ जनाको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईवटै जिल्लामा र्यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) परीक्षण गरेको हो ।
मन्त्रालयले ६६ जनाको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । मन्त्रालयले परीक्षणलाई द्रुत गतिमा अगाडी बढाउनका लागि प्रत्येक प्रदेशमा ५ हजारको दरले कीट उपलब्ध गराइएको बताइएको छ । अहिले उपत्यका सहित देशका १० स्थानमा कोभिड–१९ को परीक्षण भइरहेको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै बिहिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म २८९५ जनाको नमूना परीक्षण भएको जसमा उपत्यकामा २३८२ जना र बाहिर ५१३ जनाको नमूना परीक्षण गरिएको जानकारी दिएका छन् ।
मन्त्रालयले १८० जनालाई रेड जोनमा राखेर पनि परीक्षण गरिरहेको जनाएको छ ।









