कोरोना चेकजाँच डेक्सको हरिविजोग: ज्वरो नाप्ने थर्मोमिटर छैन, बस्ने पाल हावाले उडायो

  जयराज (समिप राज)

बाजुरा । कोरोना भाइरस नियन्त्रण र फैलिन नदिन देशमा ब्यापक कोशिष भइनै रहेको छ । तीनै तहका सरकार कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा लागिपरेका छन् ।

देशको दुर्गम जिल्लाका रुपमा मानिने बाजुरामा पनि यसबारे सचेतना फैलाउने र नियन्त्रण गर्ने काम भइरहेको छ । तर, जिल्लाको उत्तरी भेगमा स्थापना गरिएको कोरोना चेकजाँच डेक्सको भने हरिविजोग छ ।

जिल्लाको बुढीनन्दा र बडिमालिका नगरपालिका जोड्ने सिमा नाका पोरखे लेक (काँध) मा स्थापना गरिएको हेल्थ डेक्स नामको मात्रै डेक्स भएको छ । स्थाीय जनप्रतिनिधि, प्रहरी र स्वास्थ्यकर्मीको पहलमा बुढीनन्दा नगरपालिका -९ मा पर्ने पोरखे लेकमा चैत २४ गते उक्त हेल्थ डेक्स स्थापना गरिएको हो ।

कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि पैदल यात्रुलाई चेकजाँच गर्नुका साथै कारोनाबारे सूचना दिने उदेश्यसहित डेक्स स्थापना गरिएको भएपनि सेवा दिन नसकिएको अँगाउपानी आधारभूत स्वास्थ्य इकाईका प्रमुख अहेव प्रेमबहादुर भण्डारीले बताए । उनका अनुसार हेल्थ डेक्समा आधारभूत सामाग्रीहरु समेत नहुँदा चेकजाँचमा निकै समस्या भएको छ ।

डेस्क स्थापना गर्दा केहि मात्रामा सेनिटाइजर, मास्क उपलब्ध भए पनि अहिले ती सामाग्रीहरुको अभाव रहेको उनले बताए । कुनै सुविधा नभएको जंगलको बीच डाँडामा स्थापना गरिएको डेक्समा आफुसहित दुई जना सुरक्षाकर्मीलाई बस्न समस्या भएको उनको भनाई छ ।

भत्किएको जिर्व घरमा पाल टाँगेर राखिएको हेल्थ डेक्समा ज्वरो नाप्ने थर्मोमिटर पनि नभएको अहेव भण्डारीले जानकारी दिए ।

उनका अनुसार पाललाई हावाले उडाएपछि अहिले डाडाँमा बसेर आवातजावत गर्नेलाई कोरोनाबारे मौखीक जानकारी दिइदैछ ।

“पाल टाँगेर डेक्स बनाएको थियो त्यो पनि हावाले उठाउँदा समस्या हुन्छ अहेव भण्डारीले भने, अहिले डाँडामै बसेर आवतजावत गर्नेलाई हेर्ने काम मात्रै भएको छ, सोधपुछ मात्रै गरीरहेका छौं । ज्वरो नाप्न थर्मोमिटर पनि छैन । सुरुमा स्वास्थ्य इकाइको थर्मोटिर लगेर काम चलाईरहेको त्यो पनि बिग्रियो।”

हुम्ला, जुम्ला, कालिकोट र मुगुका स्थानीयहरु उक्त क्षेत्र भएर आवत जावत गर्ने भएकाले स्थानिय सरकारको पहलमा डेक्स स्थापना गरिएको थियो । तर, डेस्कमा बस्ने स्वास्थ्यकर्मीलाई नै सामान्य सुरक्षा सामाग्री नभएको अहेव भण्डारीले गुनासो गरे ।

उनका अनुसार डेस्कमा अहिले मास्क, थर्मोमिटर, पञ्जा, सेनिटाइजर र स्वास्थ्कर्मीले लगाउने पीपीईको आवश्यकता रहेको छ ।
अहेव भण्डारीले आफुलाई प्लाष्टिकका गाउन दिएको भएपनि त्यो काम नलाग्ने भएको उनको भनाई छ ।

डेक्स स्थापना गरेको ठाउँमा राम्रोसँग टेलिफोनले पनि काम नगर्ने भएकाले आफुलाई परेको समस्या नगरपालिकासम्म पनि भन्न नपाएको उनको गुनासो छ । विहान ६ देखि बेलुका ६ बजेसम्म उनि डेक्स मै बस्दै आएका छन् ।

आफूहरुलाई नगरपालिकाले आधारभूत रुपमा चाहिने सामाग्रीहरु उपलब्ध गराई दिन उनले माग समेत गरेका छन् । यसका साथै स्वास्थ्य इकाई र हेल्थ डेक्स दुबैको जिम्मेवारी आफुलाई नै दिइएकाले उपचारमा समस्या भएको पनि उनले बताएका छन् ।

हेल्थ डेक्सको नाजुक अवस्थाका बिषयमा बुढीनन्दा नगरपालिका कार्यालयमा पटक पटक जानकारी गराउँदा पनि अहिलेसम्म कुनै सुनुवाई नभएको वडा न. ९ का अध्यक्ष खडक बहादुर बोहराले बताए ।

आफ्नो वडास्तरबाट सकिने सहयोग गर्दै आएको भएपनि स्वास्थ्य सामाग्रीहरु नगरपालिकाबाट नआएका कारण समस्या भएको वडा अध्यक्ष बोहराले बताए।

“हेल्थ डेक्स अहिले बिना हतियार युद्धमा होमिएको सिपाही जस्तै भएको छ, हतियार बिनाको सिपाहीले कहिल्यै पनि युद्ध जित्न सक्दैन। हामीले बारम्बार नगरपालिकालाई गुहारेका छौँ । तर, अहिलेसम्म कुनै सुनुवाई भएको छैन । अब आउने दिनमा के हुने हो थाहा छैन, वडा अध्यक्ष बोहराले भने ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार