कालापानी नजिकै सेनाको टोली पनि सीमा सुरक्षार्थ पुग्यो


काठमाडौं । भारतले लिपुलेकमा एकलौटी सडक बनाएपछि अहिले दार्चुलाको छाङरु चर्चामा छ । भारतले नेपाली भूमी लिपुलेकमा सडक बनाएपछि त्यसको देशव्यापी चर्को विरोध भइरहेको छ ।

विरोधपछि सरकारले कालापानी भन्दा करिव १२ किलोमिटर वर छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) खडा गरेको छ ।
लिपुलेकमा भारतले बनाएको सडकबारे लकडाउनका बेला पनि जनस्तरबाट चर्को विरोध भएपछि सरकारले बुधबार मात्रै दार्चुलाको ब्याँस गाउँपालिका-१ छाङरुमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना गरेको हो ।

हाललाई २५ जनाको सशस्त्र टोली त्यहाँ बसेको छ भने १० जनाको नेपाल प्रहरीको टोली पनि छाङरुमा राखिएको छ ।
सीमा सुरक्षा टोलीले उक्त नेपाली भूमीबाट गस्ती समेत सुरु गरिसकेको छ ।

तीनै तहका सुरक्षा फौज छाङरुमा
लिपुलेक–कालापानी नजिकै पर्ने छाङरुमा राज्यका तीनै तहको सुरक्षा फौजको उपस्थिती भएको छ । नेपाली सेनाको टोली पनि सीमा सुरक्षाका लागि छाङरु पुगेको बताइएको छ ।

लिपुलेक–कालापानी नेपाली भूभाग भारतले अतिक्रमण गरेका बेला सेना मौन बसेको भन्दै आलोचना बढेपछि सेनाले पनि छाङरुमा फौज पठाएको बताइएको छ ।

सेनाको पनि उपस्थितिले सशस्त्र प्रहरीलाई पनि सहज हुने अपेक्षा गरिएको छ । सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक पनि बनाउँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार