
बाँके । क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नरैनापुर ५ नयाँ बस्तीका २५ वर्षीय युवा रहेका छन् ।
बैशाख ३० गते भारतबाट आएका उनी नरैनापुर गाउँपालिकाको दीपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका थिए । उनको आइतबार बिहान मृत्यु भएको स्थानीयले बताएका छन् ।
क्वारेन्टाइनमा उनलाई वाकवाकी लागेको बताइएको छ । तर, स्थानीयले भने क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै विरोध जनाएका छन् ।
उनलाई सन्चो नभएर अस्पताल लैजान आग्रह गर्दा एम्बुलेन्स चालकले पीपीई नभएका कारण नेपालगञ्ज लैजान नमानेको उनीहरुको भनाई रहेको छ ।
मृतक युवाको शनिबार मात्रै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र रिपोर्ट आउन बाँकी रहेको छ । उनको रिपोर्ट आएपछि मात्रै मृत्युको कारण थाहा हुने छ ।
नरैनापुर गाउँपालिकामा भारतबाट आएका ५ सयभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । नरैनापुरमा क्वारेन्टाइनमा बसेका ८ जनालाई कोरोना संक्रमण देखिएको छ ।









