बेइजिङ । चीनको राजधानी बेइजिङमा लामो समयपछि पुन : कोरोना संक्रमण देखिएको छ । दक्षिणी बेइजिङको सिनफादी मासु बजारमा कार्यरत व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
सिनफादी मासुबजारबाट संकलन गरिएका ५ सय १७ नमुनामध्ये ४५ जनामा संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।
कोरोना संकम्रण देखिएका बेइजिङका ११ वटा आवासीय क्षेत्रमा लकडाउन गरिएको छ । त्यस्तै मासुबजारको छेउछाउमा रहेको ९ वटा विद्यालयहरु पनि बन्द गरिएको छ ।
चीनको राजधानी बेइजिङमा ५० दिनपछि स्थानीय केस देखिएको हो । कोरोनाका नयाँ केस देखिएपछि पुन : संक्रमण फैलिने हो कि भन्ने चिन्ता बढेको बताइएको छ ।
गत वर्षको डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । अहिलेसम्म चीनमा कोरोनाबाट ८४ हजार २ सय २८ जना संक्रमित भएका छन् भने ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । त्यस्तै ७९ हजार ४ सय ७२ जना भने कोरोना संक्रमणबाट निको भएका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वभर फैलिइसकेको छ ।








