
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको सोमबार आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ३३ अर्ब बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले ३३ अर्ब २८ करोड ४८ लाखको बजेट ल्याएको हो ।
बजेट प्रदेशका अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेशसभामा प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा १४ अर्ब १८ करोड ७८ लाख चालु र १६ अर्ब ७२ करोड ८४ लाख पुँजीगत बजेट रहेको मन्त्री बोहराले जानकारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशको बजेटमा सांसदको ३ करोड खर्च र प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ।
त्यस्तै बजेटमा स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।
कोरोना महामारीका बीच सरकारले सरकारले आगामी वर्ष कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई लक्षित गर्दै ‘रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ’ अभियान, ‘कामका लागि खाद्यान्न’ सञ्चालन गर्ने जनाएको छ ।
त्यस्तै स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई स्वरोजगारका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ ।










