सातवटै प्रदेशद्धारा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक, कसको प्राथमिकतामा कुन क्षेत्र ?

काठमाडौं । सोमबार देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेशले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएका पाइन्छ । देश कोरोना महामारीसंग जुधिरहेकाले अन्य शिर्षकमा भन्दा स्वास्थ्यमा बढी बजेट छुट्याइएको पाइन्छ । स्वास्थ्यसंगै कृषी र शिक्षा बजेटको अर्को प्राथमिकतामा परेको देखिन्छ ।
आर्थिक बर्षको बजेट कुन प्रदेशले कति ल्याए हेरौं:

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ३३ अर्ब बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले ३३ अर्ब २८ करोड ४८ लाखको बजेट ल्याएको हो ।

बजेट प्रदेशका अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेशसभामा प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा १४ अर्ब १८ करोड ७८ लाख चालु र १६ अर्ब ७२ करोड ८४ लाख पुँजीगत बजेट रहेको मन्त्री बोहराले जानकारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशको बजेटमा सांसदको ३ करोड खर्च र प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ।

त्यस्तै बजेटमा स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

विनियोजित बजेटमध्ये पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लख २१ हजार (५७ प्रतिशत) र चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) रहेको छ ।  आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले स्वास्थ्य, शिक्षा र खाद्यान्नको लागि कोषबाट बजेट खर्च गरिने बताए ।

त्यस्तै कर्णाली प्रदेश सरकारले कोरोना केन्द्रित कार्यक्रमको लागि १ अर्ब ५० करोड रुपैयाँको कोष परिचालन गर्ने भएको छ ।

प्रदेश २ 

त्यस्तै प्रदेश २ सरकारले आगामी आर्थिक बर्षका लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ । यो बजेट चालू आर्थिक बर्ष २०७६/७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख रुपैयाँ कम हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, पूँजीगततर्फ १७ अर्ब, ९७ करोड ८२ लाख, ९१ हजार तथा वित्तीय व्यवस्थातर्फ १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश ५

प्रदेश ५ ले पनि आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैयाँ रहेको छ । आर्थिक ममिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले ल्याएको बजेट कोरोना केन्द्रीत भएको बताए ।

गण्डकी प्रदेशले

कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई लक्ष्य गर्दै गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख रुपयाँको बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश १

उता प्रदेश १ ले भने आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६.२९ प्रतिशत विनियोजन गरिएको छ ।

उनले पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३।७१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको हो ।

सोमबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत बजेट विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वतर्फ रु २० अर्ब ८३ करोड ७९ लाख, अन्तरसरकारी अनुदानतर्फ रु १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजस्वतर्फ रु ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ रु सात अर्ब ५० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार