
बेलायत । यति विश्व कोरोना महामारीबाट गुज्रिरहेको छ । कोरोनाबाट बच्नका लागि एउटै विकल्प लकडाउन भएकाले विश्वका धेरै देश लकडाउन घोषणा गरिएका छन् ।
तर, बेलायतका अनुसन्धानकर्ताहरूले भने आफू कोरोनाका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि पत्ता लगाएको दाबी गरेका छन्।
उनीहरुले सस्तो र व्यापक रूपमा पाइने (डेक्सामिथासोन स्टेरोयड ) ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको अनुसन्धानकर्ताहरूको दाबी छ।
बिबिसीका अनुसार, यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको उपचारमा प्रयोग हुँदै आएको छ। अनुसन्धानकर्ताहरूले यससम्बन्धी अनुसन्धान प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
अनुसन्धान क्रममा दुई हजारभन्दा बढी कोरोना संक्रमितलाई उक्त औषधी दिइएको थियो । त्यस्तै अन्य चार हजारभन्दा बढीलाई सामान्य उपचार गरिएको थियो। उक्त स्टेरोयड दिँदा केहीलाई खाना र केहीलाई नसाबाट दिइएको बताइएको छ ।
यसरी उपचार सुरू गरिएको २८ दिनपछि भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीको मृत्युदर ३५ प्रतिशत घटेको र अक्सिजन दिनुपर्नेको २० प्रतिशत कम भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। धेरै सिकिस्त नभएका बिरामीमा भने असर नदेखिएको उनीहरूले जानकारी दिए।













