काठमाडौँ । नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक पाइलटमा कोरोना संक्रमण देखिएको छ । हिमायल एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठका अनुसार, कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक हुन् ।
उनलाई हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपाध्यक्ष श्रेष्ठले बताए ।
उनको पीसीआर परीक्षण पोजिटिभ देखिएपछि उनीसँगै उडेका अन्य चालक दलका सदस्यको पनि स्वास्थ्य जाँच गरिएको तर अन्यको रिपोर्ट नेगेटिभ आएको समेत उपाध्यक्ष श्रेष्ठले बताए ।
हिमालयले हरेक कार्गो तथा उद्धार उडानअघि र पछि चालक दलका सदस्यको आरडीटी परीक्षण गरेर पठाउने जनाएको छ । सरकारले चैत ९ गतेदेखि व्यावसायिक उडानमा रोक लगाएपछि रोकिएका उडानहरु हिमालय एयरलायन्सले वैशाख १४ देखि भने मेडिकल कार्गो उडान थालेको थियो । असार २ गतेदेखि हिमालयले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्दै आएको छ ।