
बझाङ । बझाङको मल्लेसीमा गएराती गएको पहिरोमा एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएपछि राहात सामाग्री लिएर हेलिकोप्टर बझाङ पुगेको छ ।
पहिरो पीडितका लागि खाद्यान्न, पाल र कम्बल राहात लिएर हेलीकोप्टर बझाङ पुगिसकेको बझाङबाट प्रतिनिधिसभा सदस्य आशाकुमारी बिकले जानकारी दिइन । उनका अनुसार पहिरो पीडितहरु अहिले स्थानिय विद्यालयमा बसिरहेका छन् ।
घटनास्थलमै ल्याण्ड गर्न नसक्ने भएकाले जिल्लास्थित सेनाको ब्यारेकमा सामान झारेर गाडीबाट पीडितसमक्ष राहात लैजाने तयारी भइरहेको समेत सांसद बिकले जानकारी दिइन ।
जिल्लाको केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा गएराति दुईबजेतीर गएको पहिरोमा एकै परिवारका ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग, ७ वर्षीय छोरी अस्मीता, १५ वर्षीया छोरी शान्ति, र सोही ठाउँका ८० वर्षीय दले जेठारा, स्थानीय नवराज जेठाराकी छोरी १४ वर्षीय सन्तु जेठाराको शव फेला परेको सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश एसएसपी सिंहले बताएका छन् । पहिरोमा २० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता छन् ।










