काँग्रेसको बैठक बस्दै, ओलीसँगको गोप्य भेटबारे देउवासँग जवाफ मागिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । आइतबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको बैठकमा पार्टीको महाधिवेशन कार्यतालिका लगायत सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेटेर गोप्य छलफल गरिएकोबारे जवाफ माग्ने बताइएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रधानमन्त्री ओलीसँगको छलफलबारे सभापतिसँग जवाफ माग्ने बताइएको छ । नेकपा विभाजनको संघारमा पुगेका बेला ओली र देउवाबीचको छलफललाई संशयका साथ हेरिएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकले महाधिवेशन कार्यतालिका परिमार्जनमाथिको छलफल प्रस्ताव केही परिमार्जन गरि अनुमोदन गर्ने तयारी छ ।

देशका सबै जिल्लाहरुमा पुसमा अधिवेशन गर्न व्यवहारिक कठिनाइ हुने भएकाले त्यसबारे बैठकले पुनर्विचार गर्ने बताइएको छ । बैठकमा प्रस्तुत परिमार्जित तालिकामा असार मसान्तभित्र अन्तरिम पार्र्टी संरचना समायोजन गरी साउन मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण सक्ने उल्लेख छ ।

भदौ मसान्तभित्र क्रियाशील सदस्यताको सूची केन्द्रमा पठाउने, असोज मसान्तभित्र क्रियाशील सदस्यतामाथि उजुरी र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन सकिने उल्लेख छ । यस्तै मङ्सिर २५ भित्र क्रियाशील सदस्यताको विवाद टुंयाउने र मङ्सिर मसान्तभित्र क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउने भनिएको छ ।

७७ पुस ६ मा वडा अधिवेशन, पुस ८ मा गाउँ र नगरपालिका अधिवेशन, पुस ११ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, पुस १३ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन० एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेकामा जिल्ला अधिवेशनको मिति तोकिएको छ ।

यस्तै एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन पुस १६ गते र प्रदेश अधिवेशन माघ ६ गते गर्नेगरी परिमार्जन प्रस्ताव ल्याइएको छ । फागुन ७, ८,९ र १० का लागि पूर्व निधारित महाधिवेशनको मिति भने यथावत राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार