
काठमाडौं । भोलिदेखि ४ दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । भोली देखि असार २८ गतेसम्म देशको प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चारदिन लगातार वर्षापछि बाढी, डुवान र पहिरोको जोखिम हुने भएकाले सतर्क रहन आग्रह समत गरिएको छ ।
प्राधिकरणका अनुसार ठूला नदी नालामा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नं. ११४९ समेत उपलब्ध हुनेछ ।
बर्षाले देशका कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढेर क्षती गर्न सक्ने भएकाले होसियार रहन आग्रह गरिएको हो ।
चार दिनसम्म हुनसक्ने बर्षाले झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुवानको खतरा हुन सक्ने बताइएको छ ।











