
काठमाडौं । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि बन्द भएका भारतीय च्यानल फेरि चल्न थालेका छन् । केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक भने कायमै राख्ने भएका छन् ।
केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको बताएको छ ।
डिसहोममा सुरुदेखि नै यी चार वटा न्यूज च्यानलको मात्र प्रसारण रोकेको थियो । तर केही केबल अपरेटरहरुले अरु च्यानलको पनि प्रसारण रोकेको पाइएको छ ।
यसअघि असार २५ गतेबाट भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए । ती चारवटा च्यानलको सरकारले पनि परिस्थिति अनुकूल भएर नसुध्रिदासम्म प्रसारणमा लगाएको रोक कायम राख्न भनेको छ ।












