
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक प्रहरी इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । इन्सपेक्टर प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टविरुद्ध ५० हजार घुस लिएको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।
कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ । सेवाग्राहीको उजुरीको आधारमा आयोगको टोलीले इन्सपेक्टर कार्की र कानुन व्यवसायी विष्टलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
जबरजस्ती करणी मुद्दामा अनुसन्धान अधिकृत तोकिएका इन्सपेक्टर कार्कीलाई कानुन व्यवसायी विष्टले घुस लिन मन्जुरी गराएको भन्दै आयोगले उनीविरुद्ध पनि ५० हजार माग दाबीसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।










