राजेश हमालको महानता, दीपाश्रीलाई माफि दिन हात जोडेर गरे आग्रह


काठमाडौं । महानायकको विषयमा आफैले दिएको अभिव्यक्तिका कारण कलाकार तथा निर्देशक दीपाश्री निरौला केहि दिन देखि विवादमा तानिएकी छन् । उनलाई सामाजिक सञ्जालमा गाली दिनेको त्यतिकै जमात छ ।

उनले एक अन्तरवार्तामा राजेश हमाललाई महानायक हुनुहुन्छ र ? भन्नेर अभिव्यक्ति दिएकी थिइन् । यो विषयलाई लिएर सामाजिक सञ्जालमा आएका गालीले उनी मानसिक रुपमा समेत समस्यामा रहेको खबर आइरहेका छन् ।

यी सबैलाई मध्येनजर गर्दै नायक राजेश हमालले उनलाई माफि दिन सबैसँग आग्रह गरेका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै माफि दिन आग्रह गरेका हुन् ।

हमालले एक भिडियोमा भनेका छन्, ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’

उनले, एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्न पनि दर्शकसँग अपिल गरेका छन् । उनले भने–‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’

हमालले व्यक्तिगत हिसाबले आफू सहिष्णुता भएको र जनताको मायाले नै आफूलाई यो प्राप्त भएको बताएका छन् । उनले भने–‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौ ।’

उनले दर्शकको कला क्षेत्रमा ठूलो भूमिका हुने कुरा पनि भिडियोमा भनेका छन् । राजेश हमालको यो महानतालाई धेरैले अझ उच्चताका साथ लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार