मन्त्री लेखराज भट्टले भनेः ‘सहमति गरौं भन्दा धोका दिएको हुन्छ भने, धोकै सही’


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीभित्रको बिवाद सहमतीमार्फत खोजौं भन्दा आफुलाई उल्टै गलत आरोप लगाएको बताएका छन् ।

रिपोर्टर्स क्लबमा बिहिवार भएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भट्टले अध्यक्ष द्वय केपी ओली र प्रचण्ड एकआपसमा मिलेरै अघि बढ्नुको विकल्प नरहेको बताए ।

“मैले दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्छ भन्दै आएको छु, यसको विकल्प पनि छैन्। सहमति नै गरेर दुबै अध्यक्ष अघि बढ्नुपर्छ भन्दा मैले धोका दिएको हुन्छ भने धोका दिएकै सही । पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने नै मेरो लाईन हो,” मन्त्री भट्टले भने ।

प्रचण्ड समुह छोडेर ओलीतिर ढल्केको आरोप खेपिरहेका उनले आफु दुबै अध्यक्षको क्याम्पमा रहेको प्रष्ट पारेका छन् ।

“म दुवै अध्यक्षको क्याम्पमा छु उनले भने मलाई यता ढल्क्यो उता ढलक्यो भन्नेहरु एकता विरोधी र स्थिरसरकार विरोधी हुन ।”

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले पार्टीभित्रको गलत प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्ने पक्षमा आफु रहेको बताए ।
कार्यक्रममा बोल्दै मन्त्री भट्टले एकता महाधिवेशनसम्म दुवै अध्यक्ष निरन्तर रहने र पहिलो महाधिवेशन पनि सहमतिकै आधारमा सम्पन्न हुने बताए ।

स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि केपी ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । बहुमत स्थायी कमिटी सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन दवाब दिइरहेका बेला मन्त्री भट्टले ओलीको बचाउ गर्दै आएका छन् ।

प्रचण्ड खेमाबाट ओलीतर्फ ढल्केका मन्त्री भट्टले पछिल्लो समय प्रधानमन्त्री ओलीलाई साथ दिदैं आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार