बाजुरा । बाजुरामा अविरल वर्षासँगै आएको बाढी र पहिराेले ठूलो धनजनको क्षती भएको छ । गएराति आएको बाढीले पुलपुलेसा, दर्जनौ बस्ती र खेतियोग्य जमिन बगाएर क्षती गरेको हाे ।
जिल्लाको बडीमालिका नगरपालिका २ घागरको पुरै बस्ती र खेतियोग्य जमिन बगाएर बगरमा परिणत भएको छ । स्थानीयका २२ घर र उनीहरुले लगाएको खेतीसहितको जमिन बगाउदा लाखौं बराबरको क्षती भएको स्थानीयले बताएका छन् ।
त्यस्तै गएराति आएको बाढीले वडा २ का वडा अध्यक्ष डम्मर महतकी ६६ बर्षीया आमालाई बगाएको छ । राति एउटा घरबाट अर्को घरमा जानेक्रममा बाढीले बगाएर वेपत्ता बनाएको बुहारी कल्पना साउदले जानकारी दिएकी छन् ।
नदीमा पानीको बहाव नघटेकाले वेपत्ताको खोजीका लागि समस्या भइरहेको उनले बताइन् । त्यस्तै बाढीले स्थानीयका बाख्रा र अन्य सामान पनि बगाएको बताइएको छ ।
बाढीले घर बगाएपछि स्थानीयलाई बस्नपनि समस्या भएको छ । लगातार पानी परिरहेकाले अन्य ठाउँमा पनि क्षती हुनसक्ने अनुमान गरिएको छ । लगातारकाे बर्षाका कारणा पहिरो जाँदा बाटो पनि बन्द भएको छ । बीच बाटोमा पहिरो जाँदा सदरमुकामबाट घटना भएको ठाउँ आवत जावतमा पनि समस्या भएको छ ।
त्यस्तै नदीले साफेँ मार्तडी सडक खण्डको जडांगामा रहेको बेलिब्रिज पनि बगाएको छ । उता गौमुल गाउँपालिकामा पनि तीन वटा पुल बगाएको छ ।