बेड छुट्टाएर संक्रमितको उपचार नगर्ने अस्पतालको पीसीआर ल्याब बन्द गरिदिने स्वास्थ्य मन्त्रालयको चेतावनी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितका लागि सरकारको निर्देशन अनुसार बेड छुट्टाएर उपचार नगर्ने अस्पतालकाे कोरोना परीक्षण सम्झौता खारेज गरिदिने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत सरकारको नियम नमान्ने निजी अस्पतालहरुको पीसीआर ल्याब बन्द गरिदिने बताएका हुन् ।

यसअघि मन्त्रालयले निजी अस्पतालहरुले २० प्रतिशत र मेडिकल कलेजहरुले एक तिहाई वेड कोरोनाका लागि छुट्टयाउनु पर्ने निर्णय गरेको थियो ।

तर कोरोना परीक्षणको अनुमति पाएका निजी अस्पतालहरु र मेडिकल कलेजहरुले कोरोना परीक्षण गर्ने पोजिटिभ रिर्पोट आएपछि अर्कै अस्पताल पठाउने गरेको भेटिएको बताइएको छ ।

मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको मंगलबार बसेको बैठकले सरकारको निर्णय नमान्ने अस्पताल तथा मेडिकल कलेजलाई ल्याब सञ्चालन गर्न दिएको अनुमति खारेज गर्ने र निर्णय मान्ने सबैलाई ल्याब सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

निजी अस्पतालहरुले सरकारले आफूहरुलाई पनि कोभिड अस्पताल बनाउनु पर्ने माग पनि राखेका छन् । तर सरकराले यस्तो महामारीका बेला सरकारको निर्णय नमान्ने र आफ्नै मनपरी गर्ने अस्पतालको परीक्षणका लागि दिएको अनुमति पनि खारेज गरिदिने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार