
कैलाली । विपदमा परी ज्यान गुमाउनेका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रति परिवार १ लाख दिने निर्णय गरेको छ । पछिल्लो समय बाढी पहिरोबाट प्रदेशका विभिन्न जिल्लामा ज्यान गुमाएका परिवारलाई १ लाख दिने निर्णय गरेको हो ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको बताइएको छ । प्रदेश सरकारले दुई महिनामा मात्रै ६४ जनाले विपदमा परी ज्यान गुमाएको बताएको छ ।
तर, विपतबाट ज्यान गुमाउनेको परिवारलाई संघीय सरकारले भने जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । एकै परिवारको एक जना भन्दा बढीको मृत्यु भएमा एक जनाको २ लाख र त्यसपछि अरु मृतकको हकमा प्रति मृतक १ लाख रुपैयाँ दिने बताएको छ ।
विपतबाट भएको क्षतिपूर्तिका लागि प्रदेश सरकारले १ करोड रकम समेत उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम क्षतीको विवरण अनुसार उपलब्ध गराइने छ ।












