
कैलाली । गएराति १२ बजेबाट लागु हुनेगरी सुदूरपश्चिमका तीन जिल्ला र एक स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीको एक स्थानीयतहमा निषेधाज्ञा जारी गरिएको हो ।
ति ठाउँहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपनि कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा कडा पारिएको र निषेधाज्ञा जारी भएपछि अत्वाश्यकबाहेकका गतिविधि बन्द गर्न आदेश जारी गरेको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका साधन, भन्सारबाट जाँचपास भई आएका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य सवारी साधन जिल्लाभित्र प्रवेश गर्न निषेध गरिएको छ।
बैंकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ।
कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीको दशरथचन्द नगरपालिकामा भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। नगरपालिकामा पनि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको छ ।












