प्राधनमन्त्री ओलीद्धारा गौरा पर्वको शुभकामना


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्वको अवसरमा शुभकामना  व्यक्त गरेका छन् । सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना  दिएका हुन् ।

एक सन्देश जारी गर्दै उनले लेखेका छन्, ‘गौरा पर्व हाम्रो देशको सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व हो । प्राचीन कालदेखि नै मनाइँदै आएको यस पर्वले पारिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको छ । साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएका छन् । महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो ।’

उनले सन्देशमा हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त भएको बताएका छन् । साथै विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको बताए ।

उनले भनेका छन्, ‘यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धि तर्फ अग्रसर हुन यस अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को यस प्रतिकूल अवस्थामा गौरा लगायतका चाडपर्वहरु सुरक्षित तवरमा मनाउन विशेष ध्यान दिनु परेको छ । जीवन रक्षाका निम्ति सचेत भएर परम्पराहरुको निरन्तरतामा पनि अग्रसर रहन आवश्यक छ । यस निम्ति सजग हुँदै विशेषज्ञ र चिकित्सहरुको सल्लाह र एवं सरकारको निर्देशन अनुसार सामाजिक ब्यवहार गरेर सर्वोपरी रुपमा महामारीबाट जोगिन सबैमा आग्रह गर्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार