नेपालमै सुनाइयो, चोरी मुद्दामा १ सय ७० वर्ष कैद सजाय

कैलाली । सुन्दा अचम्म लाग्न सक्छ नेपालमै चोरी मुद्दामा १ सय ७० बर्ष कैद सजाय सुनाइएको छ । यस्तो फैसला कैलालीमा भएको हो ।
डाँका चोरी मुद्दामा २० वर्षपछि पक्राउ परेका चार जनालाई १ सय ७० वर्षको कैद सजाय सुनाइएको छ।

२० वर्षअघि विभिन्न समुहमा कैलालीको जोशीपुर, भजनी, बौनिया, मुनुवा लगायतका क्षेत्रमा हातहतियार सहित स्थानियको घरमा लुटपाट गर्ने चार जना व्यक्तिलाई प्रहरीले भदौ ९ गते घरबाट पक्राउ गरेको थियो ।

पक्राउपछि उनीहरुमाथि चलाइएको चोरी मुद्दामा अदालतले सुनाएको चारै जनाको कैद सजाय जोड्दा १ सय ७० वर्ष हुन आउँछ । अदालतले एउटै व्यक्तिलाई ८७ वर्ष सम्मको कैद सजाय सुनाएको छ ।

८ वटा डाँका चोरी मुद्दामा फरार कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ वस्ने ४५ वर्षीय रोगही भनिने करन राज थापालाई ८७ वर्ष कैद र ४४ हजार १ सय ५३ रुपैया जरिवाना गराइएको छ ।

त्यसैगरी कैलालीको भजनी नगरपालिका वडा नम्बर ६ बस्ने टीकाराम चौधरी डगौरालाई ५ वटा डाँका चोरी मुद्दामा ३८ वर्ष कैद र ९ हजार ८ सय ४० रुपैया सजाय तोकिएको छ ।

त्यस्तै कैलालीको जोशीपुर गाउँपालिका–४ वस्ने ३८ वर्षीय कालु भन्ने गुन सिंह कठरियालाई चार वटा डाँका मुद्दामा ३९ वर्ष कैद र १४ हजार ७० रुपैया जरिवाना तोकिएको छ ।

यसैगरी डाँका चोरी मुद्दाका फरार जोशीपुर गाउँपालिका–३ का ४९ वर्षीय रोहिना भन्ने भगत चौधरीलाई ६ वर्ष कैद र ४ हजार पाँच सय रुपैया जरिवाना गरिएकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार