
काठमाडौं । अविरल बर्षाका कारण देशका मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्तिलोकपथको ठांउ ठाउंमा पहिरो गएकाले यातायात ठप्प भएको छ । काठमाडौं उपत्यका लगायत देशका अधिकांस ठाउँमा हिजोदेखि निरन्तर वर्षा भइरहेकाले काठमाडौंबाट बाहिरिने सवारी साधनहरु थानकोट, नागढुंगा, कोटेश्वरमा होल्ड गरेर राखिएका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
पृथ्वी राजमार्गकै कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ ।
कृष्णभिर र तिगराङ खोलामा सडक दुईतर्फी अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अविरल बर्षापछि आएको पहिरो र लेदोले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले सडक पुर्ण अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय मंगलटार जनाएको छ ।
त्यस्तै काठमाडौं हेटौंडा जोड्ने कान्तिलोकपथ सडकखण्ड पनि अवरुद्ध छ । राजमार्गको ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध तीन ठाउँमा पहिरो खसेर सडक अवरुद्ध रहेको
ललितपुर प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकामा गएरातीदेखि निरन्तर बर्षा भइरहेकाले नदी खोलाहरुको बहाव बढ्दै भइरहेको छ ।
जसबारे स्थानिय प्रशासनले सचेतना अपनाउन सबैमा आह्वान गरकोे छ ।











