
बागलुङ । गएराति आएको बाढीले बगाउँदा मृत्यु हुनेको संख्या बागलुङमा ४ पुगेको छ । जिल्लाको ढोरपाटन नगरपालिका ९ र आसपास क्षेत्रमा बाढीले घर बगाउँदा अझै १३ जना बेपत्ता छन् ।
बेपतता हुनेमा ढोरपाटन नगरपालिका ९ का ३५ वर्षीया कौशिला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक, ३२ वर्षीया करमती घर्तीमगर, ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर र उनका ६ वर्षीय छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नवीन भण्डारी छन् ।
बाढी र पहिरोले त्यहाँ करिब १५ घरमा क्षति पुर्याएको स्थानियले बताएका छन् । पहिरोले घर राति बगाएको भएपनि बिहान मात्रै प्रहरी पुगेको र खोजी कार्य जारी राखेको बताइएको छ । प्रहरी, स्थानिय र नेपाली सेनाले उद्धार जारी राखेका छन् भने अहिलेसम्म चार जनाको शव भेटिएको छ ।














