अनशन बसेका पूर्वमन्त्री पासवानलाई अपहरण शैलीमा अस्पताल भर्ना


रौतहट । आमरण अनशन बसेका पूर्वमन्त्री विश्वेन्द्र पासवानलाई उपचारका लागि धरान लगिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई प्रहरीले एम्बुलेन्समा राखेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको हो ।

उनलाई हिजो मध्यराती प्रदेश प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले अस्पताल लगेको जनाइएको छ । रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका विजय रामको मृत्यु प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै पासवान एकसातादेखि आमरण अनशन बसेका थिए ।

प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले आमरण अनशन बसेका पूर्व मन्त्रीको स्वास्थ्य अवस्था नाजुक भइसकेपछि अस्पताल पुर्‍याइएको बताएका छन् ।

तर, पूर्वमन्त्रीका स्वकीय सचिव रोशन पासवानले प्रहरीले अपहरण शैलीमा राती १२ बजे लगेको बताएका छन् । सादा पोशाका आएका प्रहरीले जबरजस्ती सबैको मोवाइल फोन नियन्त्रणमा लिई अपहरणको शैलीमा लगेको बताएका छन् ।

हिरासतभित्रै कुटाइबाट विजय रामको मृत्यु प्रकरणमा छानविन समिति गठन भई अनुसंन्धान भइरहेको छ । उक्त घटनामा प्रहरीको कमजोरी पाइएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी रविराज खड्कालाई जिम्मेवारीबाट हटाइएको छ ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीले यातना दिएको देखाए पछि यसअघि प्रदेश नं २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ ।

मनोजको न्यायका लागि प्रदेश २ मा स्थानियहरुले प्रर्दशन गर्दै आएका छन् । पछिल्लो समय प्रदेश २ मा दलित समुदायमाथि हत्या, बलात्कार, कुटपिटका घटना बढिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार