उपत्यकाका सीडीओहरु भन्छन्: ‘सेना परिचालन, दशैंसम्मै निषेधाज्ञा’

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरु कोरोनाप्रति थप कडाई गर्ने पक्षमा उभिएका छन् ।

आइतबार प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमिति बैठकमा बोल्दै सीडीओहरुले कोरोना नियन्त्रण र रोकथमका लागि सेना परिचालन देखि दशैसम्मै निषेधाज्ञा जारी राख्ने बताएका हुन् ।

बैठकमा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका छन् । तिजको बेलामा निषेधाज्ञा गरेकै कारण कोरोना संक्रमण धेरै फैलिन नपाएको बताउँदै प्रजिअ भट्टले केही सहजीकरण गरेर निषेधाज्ञा दशैंसम्म राख्नुपर्ने धारणा राखे ।

ललितपुरमा कोरोना संक्रमितहरुको आइसोलेनस तथा क्वारेन्टिनको समस्या नभएको समेत उनले बताए ।

त्यस्तै बैठकमा बोल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् ।

जति कडाई गरे पनि दिनमा दुई हजार बढी मान्छेहरु उपत्यका प्रवेश गरिरहेकाले सेना खटाएर ब्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

“अहिले नेपाल प्रहरी खटाइएको छ, उसले गर्न सकेन भन्ने होइन । तर सडकमा लडेको जड्याहालाई उठाउनेदेखि सुन चोरसम्म पक्राउ गर्नुपर्ने जिम्मा छ उनले भने, नाकाको जिम्मा नेपाली सेनालाई दिऔं भनेका हौं,” उनले बताए ।

यसबारे प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टरमा समेत पठाएपनि कुनै निर्णय नभएको सीडीओ दाहालले बताए ।

कोरोना नियन्त्रणका लागि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौबाट निषेधाज्ञा जारी राखेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार