
काठमाडौं । पछिल्लो समय दिन प्रतिदिन काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । तीन जिल्ला मध्ये सबै भन्दा धेरै काठमाडौंमा दैनिक दुई देखि तीन सयसम्म संक्रमित बढीरहेका छन् ।
उपत्यकामा कोरोना नियन्त्रणका लागि भदौ ३ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । तर पनि संक्रमितको संख्या भने निषेधाज्ञापछि झन् बढ्दै गइरहेको छ ।
काठमाडौं उपत्यमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्नुका साथै मृतकको संख्या पनि बढ्न थालेपछि उपत्यकाका प्रशासन पटक पटक छलफलमा जुटेका छन् । उनीहरुले कोरोना नियन्त्रणमा कसरी जाने भनेर पनि छलफल र विज्ञसँग परामर्श लिइरहेका छन् ।
उपत्यकामा कसरी कोरोना न्यूनीकरण गर्ने भन्ने सन्दर्भमा उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ -आफ्नै धारणाहरु पनि सार्वजनिक गरेका छन् । कसैले निषेधाज्ञा दशैसम्मै लम्ब्याउनुपर्छ भन्छन् , भने कसैले नाकामा सेना परिचालन गर्ने कुरा पनि गरिरहेका छन् ।
पछिल्लो समय संघीय सरकारले निषेधाज्ञा गर्ने र नगर्ने निर्णय लिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नै दिएको छ । सोहीअनुसार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले २४ भदौसम्म निषेधाज्ञा लगाएका हुन् ।
उपत्यकामा अब २४ गतेपछि के गर्ने भन्ने जिम्मा पनि तीन प्रमुख जिल्ला अधिकारीकै हातमा रहेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञालाई आगामी दशैंसम्म निरन्तरता दिनुपर्ने बताएका छन् । लकडाउन र निषेधाज्ञा आदेश जारी भएपछि संक्रमितको बृद्धिद्धर व्यापक हुन नपाएको दाबी गर्दै यसलाई दशैंसम्म जारी राख्नु पर्ने उनको भनाई छ ।
तर, काठमाडौंका प्रजिअ जनकराज दाहाल भने निषेधाज्ञालाई निरन्तरता दिन नहुने धारणा राखेका छन् । अब जनस्वास्थ्यको मापदण्ड पालना गर्दै कोरोनासँगै बाँच्न सिक्नुपर्ने उनको भनाई छ । उनले उपत्यका प्रवेशमा थप कडाइ गरेर आवत जावतलाई व्यवस्थित गर्न नाकामा नेपाली सेनालाई परिचालन गरी निषेधाज्ञा खोल्न सकिने बताएका छन् ।
उता भक्तपुरकी सिडिओ हुमकला पाण्डेले भने मानव अधिकारको पनि कुरा भएकाले सबै कुरा सोच्नुपर्ने बताएकी छन् । उनले नियम सबैले पालना नगर्ने भएकाले समस्या भएको पनि बताइन् । उनले कोरोनाको जोखिम कम गर्नका लागि हाल घरमै बसिरहेका शिक्षक र सरकारी कर्मचारीलाई परिचालन गर्नुपर्ने बताएकी छन् ।
अहिलेसम्म काठमाडौंमा २ हजार ८ सय २८ एक्टिभ केसहरु छन् । ३३ जनाको निधन भएको छ । भेन्टिलेटरमा ३६ र आइसीयूमा १ सय ११ जना छन् । १९८२ जना संक्रमित होम आइसोलेसनमा छन् ।
सरकारले कोरोना भाइरसको जोखिम कम गर्न चैत ११ देखि साउन ६ गतेसम्म लकडाउन गरेको छ र केही समय लकडाउन खोलेर भदौ ३ गतेदेखि पुनः निषेधाज्ञा गरिएको अवस्था छ । भदौ १७ गतेदेखि केही खुकुलो भएको भनिएको निषेधाज्ञाको म्याद २४ गते सकिँदैछ ।











