मुद्दाहरु खारेज गरी रेशम चौधरीलाई रिहा गर्न माग


काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका युवा नेता रेशम चौधरीलाई रिहा गर्न माग गरेको छ । आइतबार जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै मधेश तथा थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्धारा मुद्दा चलाउने धन, सम्पत्ति रोका गर्ने, थुनामा राख्ने कार्य अझै जारी रहेको दावी गर्दै त्यस्तो कार्य बन्द गर्न समेत सरकारसंग आग्रह गरेको छ ।

कैलालीको टिकापुर घटनामा दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएका रेशमलगायतका नेता तथा कार्यकर्तामाथि सरकारले लगाएका मुद्दाहरु खारेज गरी रिहा गर्न माग गरेको छ । जनआन्दोलन, सशस्त्र विद्रोह, जनयुद्ध तथा मधेश आन्दोलन र थरुहट आन्दोलन लगायतका विभिन्न संघर्ष एवं बलदानीका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जसपा नेपालको विज्ञप्तिमा उल्लेख छ ।

केहि दिन अघि मात्रै रेशमको स्वास्थ्यमा समस्या आएपछि उनको स्वास्थ्य जाँच गरिएको थियो । राजनीति मुद्धामा आफ्नो अधिकार माग्दा राज्यले थारु समुदायमाथि झुटा मुद्धा लगाएर जेल पठाएको भन्दै थारु समुदायले रेशम लगायतका थारु नेता कार्यकर्ताहरुलाई जेलमुक्त गर्न माग गर्दै आएका छन् ।

उता रेशमको निर्वाचित क्षेत्र टिकापुरका जनताले पनि आफुहरुलाई जनप्रतिनीधिविहीन बनाउन नहुने भन्दै आवाज उठाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार