गृहमन्त्री नै भन्छन्ः ‘अहिले भइरहेका बलात्कारका घटनाबारे धेरै चिन्तित हुन पर्दैन’


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा भइरहेका बलात्कारका घटनाबाट धेरै चिन्तिन हुनु नपर्ने बताएका छन् ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री बादलले नेपालमा प्रत्येक दिन ६/७ जना बलात्कारको घटना भएपनि अन्य देशको तुलनामा कम रहेको बताएका हुन ।

विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको उनको भनाई छ । बलात्कारका घटना न्यूनीकरण गर्नका लागि सरकारले अधिकतम प्रयत्न गरिरहेको बताउदै गृहमन्त्री बादलले अन्य देशको तुलनामा नेपाल टप १५ मा रहेको जानकारी दिए ।

“सवा २०० कन्ट्रीहरुको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने विषय होइन गृहमन्त्री बादलले भने, सरकारको तर्फबाट न्यूनीकरणका प्रयासहरु भएका छन् । बलात्कारका घटना हुने देशहरुको लिष्टको पछाडिबाट हेर्दा हामी टप १५ मा छौं ।”

बलात्कारको घटनामा अमेरिका लगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको उनले बताए ।

“दक्षिण अफ्रिकामा बलात्कारका घटना धेरै हुन्छन, अमेरिका टप १० भित्र पर्छ । त्यहाँ बलात्कार घटना प्रतिमिनेट ७ वटा हुने कुरा आएको छ”, गृहमन्त्री बादलले भने ।

बैठकमा बोल्दै उनले बझाङ मष्टा गाउँपालिका २ की सम्झना कामीलगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन सरकारले कडा कदम चालेको बताए ।

सम्झनाको असोज ७ गते साँझ बलात्कारपछि हत्या गरी मन्दिरमा शव भेटिएको थियो । हत्यामा संलग्न राजेन्द्र बोहोरालाई प्रहरीले हिजोमात्रै सार्वजनिक गरेको थियो ।

बलात्कारका घटना बढ्दै गएपछि दोषीलाई फाँसीको सजाय दिन चौतर्फी आवाज उठिरहेको छ । मौजुदा कानुन संशोधन गरेर भएपनि बलात्कारीलाई फाँसीको सजाय दिन सरकारलाई दिवाब दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार