
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले अनशनरत डा. गोविन्द केसीको जीवन तल माथि भएमा त्यसको दोषी प्रधानमन्त्री केपी ओली हुने बताएका छन्।
सोमबार डा. केसीका बिषयमा धारणा राख्दै सांसद समेत रहेका नेता थापाले प्रधानमन्त्री ओलीलाई डा. केसीका ‘कुन माग जनहित विपरीत छन् ?’ भनेर प्रश्न गरेका छन् ।
“डा. गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने र गर्न नसकिने छ ? तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ? डा. केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ ?” थापाले सामाजिक संजालमा लेखेका छन् ।
डा. केसीका पुरा गर्न सकिने र गर्नुपर्ने मागहरु पुरा गर्न उनले सरकारसंग आग्रह समेत गरेका छन् । त्यसमा काँग्रेसले साथ र सहयोग गर्ने उनले बताएका छन् । सत्याग्रही डा. केसीमाथि दुराग्रह राखेर बेवास्ता गरेमा त्यसको ठुलो मूल्य चुकाउनु पर्ने भन्दै थापाले चेतावनी समेत दिए ।
“प्रमज्यू , ख्याल राख्नुहोला,यदि डा।केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी तपाई हो।” उनले आफ्नो सामाजिक संजालमा लेखेका छन् ।
डा. केसी चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनशनरत रहेका छन् ।
केसीको स्वास्थ्य जटिल बनेको छ । चिकित्सकहरूले आईसीयूमा भर्ना हुन आग्रह गरे पनि उनले अस्वीकार गरेका छन् । उनका सहयोगी स्वासथ्यकर्मीका अनुसार उनलाइृ श्वास फेर्न अपठ्यारो भइरहेको छ ।
सास फेर्न अपठ्यारो हुने, बेलाबेला मुटुको चालमा गडबडी हुने अवस्था आएपछि उनलाई आईसीयूमा भर्ना हुन सल्लाह दिए पनि डा। केसीले अस्वीकार गरेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । केसीले आफ्नो १९ औं सत्याग्रह जुम्लाबाट सुरु गरेका थिए । त्यहाँबाट उनलाई काठमाडौं ल्याइएको थियो ।










