‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि, कुरा के भयो ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार एक बक्तव्य जारी गर्दै रअ प्रमुखसँग प्रधानमन्त्री ओलीले शिष्टाचार भेट गरेको पुष्टि गरेका हुन् । रअ प्रमुख भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आएर भेटवार्ता गरेको थापाले जानकारी दिएका छन् ।

भेटका क्रममा गोलयले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रेस सल्लाहकार थापाले बताएका छन् ।

“उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो । भेटका क्रममा उहाँले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो”, थापाद्धारा जारी बक्तव्यमा भनिएको छ ।

रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार दिउँसो १ बजे काठमाडौं ओर्लेर बिहीबार बिहान सवा १० बजे स्वदेश फर्किको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार