अमेरिकालाई चीनको कडा चेतावनीः ‘भारत–चीन विवादमा हस्तक्षेप नगर’


काठमाडौं । भारत–चीन सीमा विवादमा बोलेको भन्दै चीनले अमेरिकालाई कडा चेतावनी दिएको छ । भारत भ्रमणमा आएका बेला अमेरिकी विदेशमन्त्री माइक पम्पियोले चीनबारे दिएको अभिव्यक्तिप्रति चीनले विज्ञप्तिमार्फत कडा चेतावनी दिएको हो ।

बुधबार भारतको दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै भारत– चीनको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।

“अमेरिकी अधिकारीहरुले बारम्बार झुटो बोलिरहेका छन् र चीनविरुद्ध आक्रमण र विभिन्न आरोप लगाइरहेका छन् । यो कूटनीतिको आधारभूत सिद्धान्तको बर्खिलाफ हो,” दिल्लीस्थित चिनियाँ दूतावासको विज्ञप्तिमा भनिएको छ ।

दुबै देशबीचको सीमा विवाद साम्य पार्न आफुहरु सक्षम रहेकाले तेस्रो पक्षबाट हस्तक्षेप नर्गन समेत चीनले भनेको छ ।

“भारत र चीनसँग असहमतिहरुलाई ठीक ढंगले समाधान गर्ने ज्ञान र क्षमता छ । तेस्रो पक्षलाई हस्तक्षेप गर्ने कुनै ठाउँ छैन”, विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार अमेरिकी विदेशमन्त्री पम्पियोले भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि चीनले प्रजातन्त्र, कानुनी शासन र पारदर्शीतालाई नमानेको भनि अभिव्यक्ति दिएका थिए ।

मंगलबार मात्रै भारत र अमेरिकाबीच महत्वपुर्ण रक्षा सम्झौतामा हस्ताक्षर भएको थियो । यस कुराले पनि चीन झस्किएको बताइन्छ ।

यो पनि पढ्नुहोस

चीनलाई झस्काउने गरी भारत-अमेरिकाबीच महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार