
काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षको स्थायी समिति बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहानदेखि जारी बैठकमा एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल समुहको सामुहिक राजीनामा रोक्ने बिषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।
असन्तुष्ट नेपाल पक्षका सांसदहरुले बिहीबार सामुहिक राजीनामा दिने निर्णय गरेको भन्ने खबर पाएपछि त्यसलाई रोक्न ओली पक्षले स्थायी समिती बैठक डाकेर छलफल गरिरहेको हो । जारी बैठकले एमालेको आन्तरिक राजनितीमा महत्वपुर्ण निर्णय गर्न सक्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँनै लाग्दा नेपाल समुहसंग विपक्षी दलका नेताहरुको छलफल बाक्लिएको छ । नयां सरकार गठनका लागि नेपाल समुह पनि निर्णायक शक्ती मानिएको छ ।
काँग्रेसको नेतृत्वमा नयां सरकार गठन गर्ने पहल भइरहेको भएपनि अन्तिम निर्णय भने हुन सकेको छैन् । काँंग्रेसको नेतृत्वमा बन्ने सरकारमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी सामेल हुने गरी नेताहरुबीच छलफल जारी छ । समाजवादीमा उपेन्द्र यादव र महन्त ठाकुर पक्षबीच सरकार गठन गर्ने बिषयमा कुरा नमिल्दा नेपाल समुहलाई पनि सत्ता समिकरणको बलियो शक्तीका रुपमा हेरिएको छ ।









