
काठमाडौं । नयां सरकार गठबन्धनको प्रयास विफल जस्तै बनको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच बहुमतिय सरकार गठनका लागि प्रयास गरिए पनि अन्तिममा आएर दावी छोडेका छन् ।
राष्ट्रपतिद्धारा नयां सरकार गठनका लागि दिइएको समयसीमा आज राती ९ बजे सकिनै लाग्दा तीन दलबीचको गठबन्धनले वैकल्पिक सरकारको दावी नगर्ने निष्र्कष निकालेका हुन् ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले राजीनामा नदिने भएपछि नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्ष निकालिएको हो । नयां सरकार गठनका लागि एमालेको नेपाल पक्ष र जसपालाई महत्वपुर्ण रुपमा हेरिएको थियो ।
नेपाल पक्षले बिहीबार नै पार्टी भित्रको विवाद साम्य गर्न अध्यक्ष केपी ओलीसंग सहमती जुटाएर सांसदहरुको राजीनामा रोकिदियो भने यता जसपाका महन्त ठाकुर र राजेन्द्र महतो पक्षले काँग्रेस नेतृत्वको सरकारका लागि गठबन्धन नगर्ने भनेपछि नयां सरकार गठन प्रकृया विफल बनेको हो ।
फेरी ओली नै प्रधानमन्त्री
नयां सरकारको दावी नगरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नै फेरी प्रधानमन्त्री बन्ने निश्चित भएको छ । ओली वहुमतको प्रधानमन्त्री बन्नेकी अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने अहिले नै प्रष्ट भइसकेको छैन ।










