
काठमाडौं । काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै सरकारको ध्यानार्कषण गराएका छन् ।
मंगलबार सभापति देउवाले सामाजिकसंजाल मार्फत कोरोनाको तेस्रो लहरबारे सचेत रहन र पूर्वतयारी गर्न सरकारसंग आग्रह गरेका हुन् ।
कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै नेपालमा पनि आउन सक्ने र त्यसले वालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेको उल्लेख गर्दै देउवाले सामाजिकसंजालमा लेखेका छन्, “म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड र आइसीयू लगायतको तयारी गर्न आग्रह गर्छु ।”
उनले कोरोनाको तेस्रो लहरबाट सुरक्षित रहन १२ वर्षमाथिकालाई खोप सुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारसंग अनुरोध गरेका छन् ।
कोरोनाको तेस्रो लहर सिंगापुरमा देखिएको र त्यसले वालबालिकालाई बढी असर गरिरहेका खबरहरु आइरहेका छन् । आजमात्रै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको तेस्रो लहरबारे भारतले पूर्व सर्तकता र सावधानी अपनाउनु पर्ने बताए छन् ।
सिंगापुरको भेरियन्ट बच्चाहरुको लागि ज्यादै खतरनाक भएको बताउँदै केजरीवालले बच्चाहरुलाई मध्यनजर गरेर खोप अभियान संचालन गर्नुपर्ने समेत बताएका छन्। भारतले तत्काल सिंगापुरसँगको उडानहरु स्थगित गर्नुपर्ने पनि उनको जोड दिएका छन् ।










