
काठमाडौं । काँग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको जालझेल र अपराधमा साथ दिएको आरोप लगाएका छन् । राष्ट्रपति भण्डारीले संविधानको पनि ख्याल नगरी प्रधानमन्त्रीले गरेका सबै काममा साथ दिने गरेकाले उनि सुध्रिने अन्तिम मौका आएको समेत बताएका छन् ।
नेता थापाले शुक्रबार सामाजिकसंजाल मार्फत भनेका छन्, “राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ, नभए भिरबाट खस्नेलाई राम राम ।”
नेता थापाले १५३ जनाको समर्थन भएको भए ओली सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको भन्दै प्रश्न समेत गरेका छन् ।
“प्रमले नै म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५) को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएकोु भन्दै आव्हान गर्ने। अब फेरी जालझेल ? यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ”, उनले भनेका छन् ।
ओलीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएपछि उनले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने सवैधानिक ब्यवस्था भएपनि त्यसो नगरेर उनले बिहीबार विपक्षीलाई वैकल्पिक सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष सिफारीस गरेका थिए ।
त्यसपछि विपक्षी दल काँग्रेस, माओवादी, जसपा र माधव नेपाल पक्षले वैकल्पिक सरकार गठनका काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी राष्ट्रपतिसमक्ष पत्र दर्ता गराएका छन् ।
ओलीले संंसदमा विश्वासको मत नलिई वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिलाई सिफारीस गरेपछि राष्ट्रपतिले नयां सरकार गठनका लागि विपक्षीलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी थिइन ।
उक्त समयसीमाभित्र विपक्षीले वैकल्पिक सरकारका लागि पत्र दर्ता गराएका छन् ।
यता प्रधानमन्त्री ओलीले पनि आफुसंग वहुमत सांसद रहेको भन्दै प्रधानमन्त्रीमा दावी गर्दै राष्ट्रपतिसमक्ष पत्र दर्ता गराएका छन् ।









