राष्ट्रपतिको खोप सहजीकरणप्रति नेता रावलको प्रश्नः ‘के सरकार निकम्मा भएकै हो ?’

काठमाडौं । एमाले नेता डा. भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशसंग खोप माग्नु असंवैधानिक कार्य भएको बताएका छन् ।
सोमबार समाजिक संजालमा प्रतिकृया लेख्दै नेता रावलले विभिन्न देशका राष्ट्रप्रमुखलाई आफैले पत्राचार गरी खोप माग्नु संविधानको उल्लंघन भएको टिप्पणी गरेका हुन् ।

विघटित प्रतिनिधि सभा सांसद तथा पूर्वमन्त्री समेत रहेका नेता रावलले नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको भूमिका नदिएकाले विभिन्न राष्ट्रप्रमुखसंग खोप याचना गर्दै पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको उनको ठहर छ ।

“कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो। यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ”, नेता रावलले टुइट गरेका छन् ।

केही दिनयता राष्ट्रपति भण्डारीले खोप उत्पादक विभिन्न मुलुकका राष्ट्र प्रमुखलाई खोप सहजीकरणको आग्रह गर्दै पत्राचार गरेकी छन् । जुन कार्यको विपक्षी दलका नेताहरुले पनि आलोचना गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार