नांगो रुपमा संसद विघटन गरिएको छ, पुनर्स्थापना हुन्छ– प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन् ।

मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नांगो रुपमा संसद विघटन गरिएकाले पुनर्स्थापना हुने बताएका हुन् ।

“अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, संसद पुनर्स्थापना हुन्छ, प्रचण्डले भने अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान हेर्ने हो । ओलीले ५ पुसमा पनि संसद विघटन गरे, हामीले लडेर संसद फिर्ता ल्यायौँ, अहिले पनि फिर्ता हुन्छ ।”

प्रधानमन्त्री केपी ओलीद्धारा पहिलो पटक गरिएको संसद विघटनको बेला कांग्रेस ढुलमुले चरित्रमा रहेको तर अहिले प्रतिगमन नै भएको स्विकार्दै गर्दै संसद पुर्नस्थापनामा आफुसंगै रहेको प्रचण्डको भनाई छ ।

“पहिलोपटक संसद विघटन हुँदा नेपाली कांग्रेस पनि ढुलमुले चरित्रमा थियो, अहिले यो प्रतिगमन नै हो भन्नेमा पुगेको छ। जसपाका उपेन्द्रजीहरु पनि साथमै छन् । माधवजीहरु पनि सँगै छन् । जनमोर्चा पनि साथमा छ, त्यसैले संविधानको रक्षा हुँदै संसद पुर्नस्थापाना हुन्छ”, प्रचण्डले भने ।

अदालतबाट संसद पुनर्स्थापना हुने र त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा रहेका दलहरुको संयुक्त सरकार बन्ने समेत प्रचण्डले खुलाशा गरे ।

अहिले संविधान र लोकतन्त्रको रक्षा मुख्य मुद्धा भएकाले यसका पक्षधर दलहरु एक ठाँउमा आउन प्रचण्डले आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार