
काठमाडौं । नेकपा एमालेले काँग्रेस नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। एमालेअध्यक्ष केपी शर्मा ओली पक्ष नेताहरुको सहभागितामा आज तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले एमाले भित्रको विवाद मिलाउनका लागि बनेको १० सदस्यीय कार्यदल पनि खारेज गरेको छ । पार्टी भित्रको विवाद मिलाउनका लागि ओली र नेपाल पक्षका १० जना नेताहरुको सहभागितामा २ जेठमा कार्यदल बनेको थियो ।
आजको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । त्यस्तै बैठकले कार्यदलका लागि ओली सरकारलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।
यसअघि स्थायी कमिटी बैठक रोक्न माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू बैठक स्थल पुगेका थिए । कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने भन्दै उनीहरूले बैठक रोक्न माग राखेका थिए। तर ओलीले कार्यसूची अनुसार बैठक अघि बढ्ने भन्दै अस्वीकार गरेका थिए।
ओलीले बैठक रोक्न अस्वीकार गरेपछि उनीहरु बैठक स्थलबाट बाहिरिएका थिए । आजको बैठकबाट एमाले भित्र ओली र नेपाल पक्षबीचको विवाद झनै बढ्दै गइरहेको बुझिएको छ ।










