काठमाडौँ । कंचनपुरकी निर्मला पन्तको हत्यारा अझै पत्ता नलागिसकेको अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई अध्यन प्रतिवेदन बुझाएको छ । बलात्कारपछि हत्या गरिएकी १३ बर्षिय बालिका निर्मलाको घटनाबारे अनुसंन्धान गर्न आयोगद्वारा गठित विज्ञसहितको टोलीले हत्या सम्बन्धमा अनुसन्धान गरी आइतबार सरकारलाई आफ्नो अध्यन प्रतिवेदन बुझएको हो ।
टोलीद्धारा घटनाबारे गरिएको अध्यन र छलफलका आधारमा सरकारलाई चारबुँदे सिफारिश र २४ बुँदे निर्देशनसहितको प्रतिवेदन सरकारलाई बुझाएको आयोगले जनाएको छ । घटनाका सम्बन्धमा कात्तिक २७ गते विज्ञसहितको अनुसन्धान टोली गठन गरिएको थियो ।
टोलीले सरकारलाई बुझाएको अध्ययन प्रतिवेदनमा घटनास्थल तथा लास जाँच प्रकति मुचुल्काले गम्भीर प्रकतिको हत्या देखाएको, अनुसन्धानका क्रममा घटनाको विभिन्न चरणमा खिचिएका तस्विरहरु हेर्दा अनुहार, घाँटी, दुवै पाखुरा, दुवै तिघ्रा, पेटको भाग र खुट्टामा चोटपटक लागेको देखिएको उल्लेख छ ।
त्यसैगरि, मृतक पन्तको शरीरबाट डिएनए परीक्षणका लागि लगिएको ‘भेजाइनल स्वाब’ लगायतका नमूनाहरु सङ्कलन गर्दा सिन्कोमा बेरिएको कपासबाट नमूना सङ्कलन गरिएको देखिँदा सङ्कलन प्रक्रिया दोषमुक्त नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा अगाडि भनिएको छ, ‘यसरी संकलन गरी टेष्टट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए संकलन नहुने, डीएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही नआउने जस्ता समस्या रहेको पाइयो।’
साथै टोलीले घटनाप्रति प्रहरी संवेदनशील नभएको समेत ठहर गरेको छ ।
त्यसैगरि, अनुसन्धानका सिलसिलामा मानसिक एवम् शारीरिक यातनालाई शून्य सहनशीलतामा नलगिएको, एउटा मुद्दाका नाममा पक्राउ गरी अर्को मुद्दामा अनुसन्धान गर्न नहुने स्वच्छ सुनुवाइको सिद्धान्तको पालना नभएको, घटनास्थल विज्ञले प्रमाणलाई उचित रुपमा सङ्कलन नगरेको, अनुसन्धानका क्रममा सर्वसाधारणलाई दुःख हैरानी दिएको, घटनास्थललाई घेराबन्दी नगरिएको, शव परीक्षण हुँदा जिम्मेवार अनुसन्धानकर्ता उपस्थित नभएको, जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग प्रभावकारी समन्वय नभएको कुरा समेत प्रतिवेदनमा उल्लेख छ ।
पुर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठित अनुसन्धान टोलीमा पूर्वनायब प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा।हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा रहेका थिए ।
निर्मलाको हत्याबारे प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अन्त्य नभएसम्म आयोगको अनुगमन जारी रहने समेत जनाइएको छ ।
कंचनपुरको उल्टाखामस्थित आफ्नै घरबाट साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्था शव भेटिएको थियो । हत्यापछि विभिन्न अनुसंन्धान हुदै आएको भएपनि अहिलेसम्म हत्यारा पक्राउ परेको छैन ।